काठमाडौँ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले क्षुद्रग्रह दिवस असार १७ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ । विश्वका विभिन्न देशमा सन् २०१५ देखि यो दिवस मनाउन थालिएको हो ।
२०१६ मा संयुक्त राष्ट्र सङ्घको महासभाले यो दिवसलाई मान्यता दिएपछि भने २०१७ देखि धेरै देशले मनाउन थालेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
सोसाइटीले २०१७ र २०१८ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) सँग मिलेर दिवस मनाएको थियो । सौर्यमण्डल बन्दा अवशेषका रूपमा मङ्गल र बृहस्पति ग्रहका बिचमा रहेको भागलाई क्षुद्रग्रह भनिन्छ । यी ग्रह पृथ्वीलाई पार गरेर जान सक्ने भएकाले खतरा रहेको अध्यक्ष भट्टराई बताउनुहुन्छ ।
१९०८ मा रसियास्थित साइबेरियाको जङ्गली क्षेत्रमा सानो क्षुद्रग्रह आएर टुङुस्का नामको घटना भएको उहाँले सुनाउनुभयो । जङ्गली क्षेत्रमा ठोक्किएकाले वन सखाप भएको थियो । यसैले पृथ्वीलाई खतरा हुन सक्ने क्षुद्रग्रहको अध्ययन अनुसन्धान गरिर्नुपर्ने माग सोसाइटीले राख्दै आएको छ ।
सोसाइटीले २०१६ देखि क्षुद्रग्रह खोज अभियान सुरु गरेको छ । यस क्रममा २०२१ को मेसम्म एक हजार १९४ क्षुद्रग्रह सोसाइटीकै नेतृत्वमा भएको खोजबाट पत्ता लागेको छ । यीमध्ये ११ वटाले अस्थायी नाम पाएका छन् । एउटा भने पृथ्वीका लागि खतरनाक रहेको छ । यसको नाम २०१९ के के ५ राखिएको छ । यी ग्रह पृथ्वीको कक्ष काटेर जाने बेलामा खतरा मानिन्छन् ।
क्षुद्रग्रहलाई नाङ्गो आँखाले देख्न सकिँदैन ।