काठमाडौँ । सार्वजनिक यातायात सञ्चालन हुने गरी काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझ खुकुलो पारिएको छ ।
सोमबार बसेको उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्नुका साथै सो निर्णय गरेको हो ।
मङ्गलबारदेखि थप भएको निषेधाज्ञामा काठमाडौँ उपत्यकामा २५ सिटमाथिका सार्वजनिक बस पनि चल्न दिइने भएको छ । तर, सार्वजनिक यातायातमा पनि निजी यातायातमा जस्तै जोरबिजोर लागु हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दुरी कायम हुनुपर्ने छ ।
गत वैशाख १६ देखि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइएको थिएन । निजी सवारी साधनसमेत जोरबिजोरमा अघिल्लो सातादेखि सञ्चालनमा आएको थियो ।