काठमाडौं । भेरी बबई डाइभर्सन सुरुङ निर्माणका लागि ल्याइएको मोनोरेलमा चढेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेका छन् ।
बबई किनार हात्तीखालस्थित सुरुङको निकासद्वारबाट ‘मोनोरेल’ चढेर चिप्लेमा रहेको प्रवेशद्वार पुगेका मन्त्री पुनले आयोजनाको निरीक्षण गरेका हुन् । आयोजनाले सुरुङ निर्माण गर्ने क्रममा मोनोरेल ल्याएको थियो ।
सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–११ चिप्लेबाट सुरु भएको सुरुङ सोही नगरपालिका–५ हात्तीसार पुगेर बबई नदीको किनारमा टुंगिन्छ। आयोजनाको सुरुङ १२ हजार २०० मिटर लामो छ ।
भेरीको पानी बबई नदीमा मिसाएर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने उद्देश्यले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण भइरहेको छ। यो आयोजनाबाट ४६ दशमलव ८ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि छ ।