वीरेन्द्रनगर । फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारबाट यो समुदाय झन्डै १० वर्षपछि सल्यान पुगेको हो ।
गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मङ्गलबार सुर्खेतबाट सल्यानको कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले १० वर्षपछि राउटेहरू पुनः सल्यानमा पुगेको बताउनुभयो ।
हाल ४६ घरधुरीमा गरी राउटेको सङ्ख्या १४३ रहेको छ । आफ्नो समुदायका सदस्यको मृत्यु हुँदा बसाइँ सर्ने प्रचलन भए पनि राउटेहरू यस पटक गुर्भाकोट भेरी किनारमा गर्मी बढेपछि सल्यानतर्फ लागेको बताइएको छ । अछाम, दैलेख, सुर्खेतका विभिन्न जङ्गल क्षेत्र हुँदै उनीहरू सल्यान सरेका हुन् ।
पहाडी जङ्गलमा फिरन्ते जीवनशैली बिताउने राउटे समुदाय नेपालकै लोपोन्मुख आदिवासीमा पर्दछ । सरकारले यस जातिको सुरक्षाका लागि प्रतिव्यक्ति मासिक रु. तीन हजार प्रदान गर्दै आएको छ ।