फुङलिङ । जिल्लाको मेरिङदेन गाउँपालिकाले हाइड्रोपावर इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रभित्रका एक छात्र र एक छात्रालाई उक्त अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो ।
बुधबार सार्वजानिक भएको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा फुङलिङ नगरपालिकास्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा दुई जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिने उल्लेख छ ।
यसैबिच १६ वर्षमुनिका असहाय बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याई विद्यालय भर्ना दर शत्–प्रतिशत पुर्याउनका लागि विशेष शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ । सोअन्तर्गत प्रतिव्यक्ति मासिक रु. ५०० का दरले उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
यस्तै, अनौपचारिक शिक्षामार्फत गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय भाषा, लिपि तथा संस्कृतिको संरक्षणका लागि स्थानीय मातृभाषाको पठनपाठनलाई निरन्तरता दिने र स्थानीय भाषा स्वयम्सेवक शिक्षकले पाउँदै आएको पारिश्रमिकमा रु. तीन हजार थप गरिने भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४१ करोड १६ लाख ४९ हजारको बजेट ल्याएको छ । (रासस)