बुटवल । ‘स्वतन्त्र नागरिक समूह, नेपाल’ले नागरिकको लागि सरकारसँग कोरानाविरुद्धको खोपको माग गरेको छ । नागरिकको जिउ, धन र स्वास्थ्य सुरक्षाका लागि नेपालका सबै नागरिलाई कोरानाविरुद्धको खोपको व्यवस्था गर्न स्वतन्त्र नागरिक समूहले माग गरेको हो ।
स्वतन्त्र नागरिक समूहका अध्यक्ष विश्वराज गैह्रेले एक विज्ञप्ति निकाली सरकारको यस आर्थिक वर्षको सम्पूर्ण श्रोत कोभिड खोपमा लगानी गर्न सरकारसँग माग गर्नुभएको छ ।
‘आमनागरिकको स्वास्थ्य उपचारमा सरकार जवाफदेही र जिम्मेवार बन्न नसकेका कारण कोभिड–१९ बाट हजारौं नेपाली नागरिक प्रभावित भई, सयौं नागरिकले मृत्युवरण गर्नु नेपाल र नेपालीको लागि दुर्भाग्य हो’ उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोभिड–१९ को महामारीबाट प्रत्येक नेपाली प्रभावित भइरहेको अवस्थामा त्यसको समाधानतर्फदत्तचित्त भएर लाग्नुको बदला सरकार सत्ताको खेलमा मात्र लागिपर्दा नागरिक मर्माहत हुनुपरेको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिक प्रतिको दायित्व वहनमा सरकारको उदासिनता देखिनु लज्जास्पद र खेदजनक छ ।’
