बागलुङ । प्रेस संगठन नेपाल, बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार/सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएर समाचार संकलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामल वितरण गरिएको शाखा संयोजक थम्मन थापाले बताउनुभयो ।
संयोजक थापासहित सदस्य बिमल खड्का र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका सदस्य सरीता खत्रीले आज गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट सञ्चालित सञ्चार संस्थामै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । पाँच वटा रेडियोसहित पत्रिका र अनलाइन माध्यममा कार्यरत पत्रकार/सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको संयोजक थापाले जानकारी दिनुभयो ।
रेडियोलाई पाँच-पाँच प्याकेट मास्क, पाँच वटाका दरले सेनिटाइजर र सिटामल, अनलाइनलाई दुई प्याकेटका दरले मास्क, सेनिटाइजरलगायत प्रदान गरिएको हो । जिल्लाभरमा गरी रु। ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गर्न लागिएको सचिव अनिष खातीले बताउनुभयो ।