काठमाडौँ । नेकपा (मसाल) ले डोटी बोकटान फुडसिल गाउँपालिका–४ निवासी पार्टीसदस्य धर्मसिंह बमको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
जन्डिसका कारण असार ६ गते निधन भएका धर्मसिंहप्रति श्रद्धाञ्जलीका साथै पार्टीले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७८ असार ७ गते जारी शोकवक्तव्यमा श्रद्धाञ्जली तथा समवेदना प्रकट गरिएको हो ।
यस्तो शोकवक्तव्यको पूर्ण पाठ–
“डोटी जिल्ला बोकटान फुडसिल गाउँपालिका वडा नं. ४ निवासी नेकपा (मसाल) का पार्टीसदस्य तथा नेकपा (मसाल) डोटी जिल्ला समितिका पूर्वसदस्य ४५ वर्षीय का. धर्मसिंह बमको कमलपित्त (जन्डिस) रोगका कारण २०७८ असार ६ गते आफ्नै घरमा मृत्यु भएको समाचारले हामीलाई निकै दुखी तुल्याएको छ । का. धर्मसिंह बमप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. बम लामो समयदेखि देशभित्र तथा प्रवासमा पार्टी तथा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनमा सक्रिय हुनुहुन्थ्यो । डोटी जिल्लाको बोकटान क्षेत्र उहाँको मुख्य कार्यक्षेत्र रहिआएको थियो । का. बम राजनीतिक रूपले मात्र होइन, सामाजिक तथा विकास निर्माणको क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँको मृत्युले पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।
अन्तमा उहाँले पार्टी र आन्दोलनलाई पुराएको योगदानको स्मरण गर्दै का. बमप्रति पुनः श्रद्धाञ्जली प्रकट गर्न चाहन्छु ।”
त्यस्तै, राष्ट्रिय जनमोर्चा डोटीले पनि शोक वक्तव्य जारी गर्दै धर्मसिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
असार ६ गतेका दिन सचिव केशवनाथ योगीद्वारा जारी शोकवक्तव्य यस्तो छ–
“डोटी बोगटान फुडसिल गाउँपालिका वडा नं. ४ सातफरि निवासी राष्ट्रिय जनमोर्चाका पूर्व जिल्लासदस्य, सोही गाउँपालिका अध्यक्षका उम्मेदवार युवक सघका पूर्व केन्द्रीय सदस्य कमरेड धर्मसिं बमको जन्डिस बिमारीका कारण २०७८ असार ६ गतेका दिन ४५ वर्षको उमेरमा असामयिक निधनको खबरले राष्ट्रिय जनमोर्चा परिवार स्तब्ध भएको छ । साथै उहाँको मृत्युले पार्टीलाई अपूरणीय क्षति भएको छ ।
समाजमा छउन्जेल समाजसेवी भएर खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्नुका साथै मृतकप्रति श्रद्धासुमन श्रद्धाञ्जली व्यक्त गर्दछौँ । शोकसन्तप्त परिवारमा समवेदनाका साथै धैर्यधारण गर्नसमेत आग्रह गर्दछौँ ।”
