तेहरान । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधान न्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
न्यून मतदान भएको यस पटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मत प्राप्त गर्नुभएको हो ।
आधिकारिक घोषणामा राइसीले समग्रमा एक करोड ७९ लाख मत प्राप्त गर्नुभएको देखाइएको छ । कुल मतदान भएकोमध्ये राइसीले झन्डै ६२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहनुभएका पूर्व कट्टरपन्थी रिभोल्युसनरी गार्डका कमान्डर मोहसेन रेजाईले ३४ लाख मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपति हस्सन रौहानीको समर्थनप्राप्त केन्द्रीय बैङ्कका पूर्वप्रमुख अब्दोलनास्सेर हेम्माटीले २४ लाख मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभयो । अमिरहोसेन घाजीजादेह हाशेमीले १० लाखभन्दा कम मत प्राप्त गर्नुभएको थियो ।
इरानमा कुल पाँच करोड ९० लाख मतदातामध्ये करिब दुई करोड ८९ लाखले मात्र मतदान गरेका थिए । मतदानमा सहभागीमध्ये पनि करिब ३७ लाखको मतपत्र बदर भएको छ ।
मतगणनाको नतिजा सार्वजनिक गर्दै गृहमन्त्री अब्दोलरेजा रहमानी फाज्लीले बदर भएको मतको सङ्ख्या खुलाउनुभएको थिएन ।
२०१७ र २०१२ मा भएका मतदानमा करिब १२ लाख मत बदर भएका थिए । इरानमा चुनावमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति दिइएको छैन ।
इरानका राष्ट्रपतिहरू प्रायः सबै दुई कार्यकाल पदमा रहेका छन् । इरानमा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ । (रासस–एपी)





