काठमाडौं । नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा पर्न सफल भएको छ । शान्ति सेनामा कूल ५ हजार ६ सय ८६ फौज पठाएर सो स्थान हासिल गर्न सफल भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताउनुभयो ।
शान्ति मिशनमा योगदान गर्ने मुलुकको सूचीमा बंगलादेश पहिलो राष्ट्र हो । दोस्रोमा इथियोपिया, तेस्रोमा नेपाल र चौंथोमा रुवान्डा र पाँचौंमा भारत र छैटौंमा पाकिस्तान रहेका छन् ।
यसअघि नेपाल छैटौं स्थानमा रहेको थियो । शान्ति सेनामार्फत् नेपाली सेनाले द्वन्द्वग्रस्त १२ देशमा शान्ति स्थापनार्थ खटिएको छ। अहिलेसम्म नेपाली शान्ति सेनाले कंगो, सुडान, साउथ सुडान, वेस्टर्न सहारा, इजरायल, लेवनान, माली, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, इराक र लिवियालगायत देशहरुमा शान्ति स्थापनार्थ योगदान पुर्याएका छन्।
असार १ सम्म नेपाली सेना द्वन्द्वग्रस्त विभिन्न मुलुकका ४३ शान्ति मिसनमा काम गरेको छ । सेनाबाट अहिलेसम्म १ लाख ३५ हजार ३ सय ४३ जनाले शान्ति सेनामा गएर काम गरेका छन् ।
सैनिक प्रवक्ता पौडेलका अनुसार विश्व शान्तिको क्षेत्रमा बढी शान्ति सेना प्रदान गर्ने मुलुकमा रहनु नेपालप्रति अन्य मुलुकको विश्वास हो । नेपाल यूएनले चाहेको बेलामा आवश्यक सामग्रीसहित छिटो खटिन सक्छ भन्ने विश्वास पनि बढेको छ । यसले गर्दा नेपालले यूएनका माथिल्लो पदमा आफ्नो दाबी प्रस्तुत गर्नको लागि सहयोग पनि गर्छ।