काठमाडौं । सशस्त्र प्रहरीले कपिलवस्तुमा खोलाको बीचमा फसेका ८ बालबालिकाको सकुशल उद्धार गरेको छ।
बिजयनगर गाउँपालिका १ स्थित मध्यनगरमा अविरल वर्षाको कारण अरुवा खोलामा पानीको बहाव बढ्न गई खोलाको बीच भागमा अलपत्र परेका ८ जना बालबालिकाहरुको सशस्त्रले सकुशल उद्वार गरेको हो।
गाईवस्तु चराउन गएका उनीहरु उक्त खोलको बीच भागमा अलपत्र परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जवावैराथबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो।
यसैगरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ स्थित थारु टोलमा अविरल वर्षाको कारण नारायणी नदीको बहाव बढ्न गई डुवानमा परेका २४ वटा घरबाट खाद्यान्न तथा अन्य सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरहरुको सामान सुरक्षित स्थानमा सारेको हो।
