शंकरप्रसाद पोखरेल, प्युठान ।
प्युठानको एउटा ग्रामिण सडक निर्माणमा लापरवाही गरेको भेटिएपछि प्रदेश सांसदले ठेकेदारलाई पुनः दोहोर्याएर काम गर्न लगाएका छन् । मच्छि–नारिकोट–रिपुरे–गुल्मी सडकको कोईरा–रामखोला खण्डको काम पाँच नं प्रदेश सांसद तारा जिसीको अनुगमनपछि ठेकेदारले फेरि गरेका हुन् ।
सो सडक खण्डको काममा लापरवाही भएको जनगुनासो आएपछि सांसद जिसीले अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा सडकको अवस्था गतिलो नदेखिएपछि लापरवाही भएको ठहरसहित ठेकेदारलाई पुनः सडक बनाउन लागाइएको हो ।
त्यसक्रममा मंगलबारसम्म डोजरले ३२ घण्टा काम गरेको छ भने बुधबार पनि काम जारी राख्ने ठेकेदारले जनाएका छन् । प्रदेश नं ५ को २० लाख रुपैयाँ लागतको यो सडक ठेकेदार प्रेम पंडितले निर्माण गर्दैछन् ।
निर्माणको काम कमसल भएपछि पुनः दोहोर्याउनु पर्ने अवस्था राजमोबाट निर्वाचित सांसद जिसीको पहलमा भएको हो ।