खिमराज चालिसे, चंडिगढ (भारत) ।
प्युठानकी एक नौ महिने बालिकाको मुटुमा प्वाल परेपछि उपचारमा समस्या भएको छ । रोजगारीको शिलशिलामा भारतको चंडिगढमा रहेका प्युठानको झिमरुक गाउँपालिका–१ बडाचौर निवासी जनक पोख्रेल र श्यामकला पोख्रेलका ९ महिने छोरी निर्मलाको मुटुमा प्वाल परेको पाइएको हो ।
बालिकाको हाल चंडिगडस्थित पीजीआई अस्पतालमा उपचार भइरहेको छ । प्रवासमा रहेर मजदुरी गर्ने सामान्य आर्थिक हैसियतका पोख्रेल परिवारलाई बालिकाको उपचार गर्न समस्या परेपछि परिवारले सहयोगको अपिल गरेको छ ।
निर्मलाको उपचारका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढले नेरु २९ हजार ४७२ रुपैयाँ सहयोग गरेको छ । नगर अध्यक्ष मान बहादुर केसी, उपाध्यक्ष बालाराम न्यौपाने, नगर समितिका थमन थापा, केन्द्रीय सदस्य दिनेश खडका, महिला क्षेत्रीय सचिव जुना चालिसे, लगाएत नेता कार्यकर्ताहरुले रकम संकलन गरी पीडित बालिकाकी आमालाई हस्तान्तरण गर्नुभएको हो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बालिकाको उपचारका लागि ठूलो धनराशी खर्च हुन्छ । बालिकालाई सहयोग गर्न इच्छुक व्यक्तिहरुले उनकी आमा श्यामकलाको मोबाइल नं ९१७६८१९२५९८८ मा सम्पर्क गर्न सकिनेछ ।