नयाँ दिल्ली । भाकपा (माले) रेड स्टारका पोलिट ब्यूरो सदस्य तथा महिला नेतृ शर्मिष्ठा चौधरीको निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दुःख प्रकट गरेको छ ।
पेटसम्बन्धी समस्याका कारण कलकत्ताको एक अस्पतालमा उपचाररत शर्मिष्ठाको हिजो (आइतबार) निधन भएको भाकपा (माले) रेडस्टारले जनाएको छ । अन्तर्राष्ट्रिय महिला आन्दोलनसँग सम्बन्धित नेतृ चौधरीको अखिल नेपाल महिला संघसँग पनि सम्बन्ध रहेको थियो ।
मूल प्रवाहले शर्मिष्ठाको निधनले श्रमजीवी आन्दोलनमा क्षति पुगेको र नेपाली समाजलाई दुःखी तुल्याएको भन्दै उहाँप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । समाजका महासचिव ठाकुर खनालले एक शोक वक्तव्य प्रकाशित गरी महिला नतृ चौधरीप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको हो ।
शोक वक्तव्यमा खनालले लेख्नुभएको छ :
‘भाकपा (माले) रेड स्टारका पोलिटब्यूरो सदस्य तथा महिला नेतृ शर्मिष्ठा चौधरीको निधनले श्रमजीवी वर्गको आन्दोलनलाई क्षति पुगेको छ ।
मजदुरहरुको बीचमा सहजै घुलमिल भई काम गर्ने महिला नेतृ शर्मिष्ठासँग मजदुरहरुको हकहितको लागि चलेका कैयौं संयुक्त आन्दोलनहरुमा सहकार्य गरियो । उहाँ अन्तर्राष्ट्रिय महिला आन्दोलनसँग पनि सम्बन्धित हुनुहुन्थ्यो । भारतको महिला संगठन अखिल भारत क्रान्तिकारी महिला संगठनसँग नेपालको अखिल नेपाल महिला संघको अन्तर्राष्ट्रिय स्तरमा सहकार्य थियो । शर्मिष्ठा चौधरी एक सहासी तथा स्पष्ट वक्ता हुनुहुन्थ्यो । वहाँको निधनले भारतको मजदुर आन्दोलनको साथसाथै महिलाहरुको समान अधिकार तथा महिला मुक्तीको आन्दोलनलाई पनि क्षति पुगेको छ ।
महिला नेतृ शर्मिष्ठा चौधरीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यो घडीमा हामी भाकपा (माले) रेड स्टारका नेता, कार्यकर्ता, शुभचिन्तक एवं परिवारजनमा समवेदना प्रकट गर्दछौं ।’