काठमाडौं । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा प्रहरीले एक होटल सञ्चालकलाई चार लाख रुपैयाँ जरिवाना गरेको छ। होटलमा बसेका दुई विदेशीसहित नौ जनालाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
त्रिपुरेश्वर स्थित युनाइटेड बिजनेश होटलका सञ्चालक २५ वर्षीय अश्विन श्रेष्ठलाई ४ लाख र बाँकी ९ जनालाई १५ हजारका दरले जरिवाना तिराइएको प्रहरीले जनाएको छ। आइतबार बिहान ३ बजे अनुगमनका क्रममा होटलभित्र हो हल्ला गरेको पाइएपछि कारबाही गरेको प्रहरीको दाबी छ ।
प्रहरीले अनुगमनका क्रममा ‘निषेधाज्ञा उल्लंघन गरी होटलमा हो–हल्ला भेला जम्मा गराई समाजमा सङ्क्रमण रोग फैलाउने कार्य गरी रहेका अवस्थामा फेला’ पारेको जनाएको छ । उनीहरुलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय पठाइएकोमा सो जरिवाना तिराइएको हो ।
होटलका सञ्चालक भोजपुरको भोजपुर नगरपालिका–९ घर भएका वर्ष २५ को अश्विन श्रेष्ठ ४ लाख तथा होटलमा रहेका धादिङ निलकण्ठ गाउँपालिका–५ घर हुने वर्ष २९ की एलिशा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर हुने वर्ष २१ की योगिता भन्ने सुनी तामाङ, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ घर हुने वर्ष २३ को छितिज खड्का, सिन्धुपाल्चोक लिशंखु गाउँपालिका–७ घर हुने वर्ष २९ को नबिन लामा, दोलखा बैतेश्वर गाउँपालिका–१ घर हुने वर्ष २३ को रोहित तामाङ, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ घर हुने वर्ष १८ को सुजन नेपालीलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ जरिवाना तिराइएको हो।
यस्तै, क्रोयसियाका एक र अजरबैजनका एक गरी दुई विदेशी नागरिकले समेत १५ हजार रुपैयाँ तिरेका छन्।