काठमाडौं । कथित माथिल्लो जातकी युवतीलाई प्रेमपत्र पठाएको आरोपमा रौतहटमा एक दलित युवकलाई सार्वजनिक स्थलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । कुटपिटको भिडिओ शुक्रबार समाजिक सञ्जालमा भाइरल भएपछि घटना सार्वजनिक भएको हो ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवानलाई सार्वजनिक स्थलमा कुटपिट गरिएको हो । गिरी थरकी एक युवतीलाई प्रेम पत्र पठाएको आरोपमा कक्षा ११ मा पढ्ने पासवानलाई वडा नम्बर ४ बस्ने राजदेव गिरी लगायतले सार्वजनिक स्थलमा बाँधेर निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।
समाजिक संजालमा भिडिओ भाइरल भएपछि कुटपिट घटनामा संलग्न राजदेव गिरीसहित तीनजनालाई शुक्रबार बिहान पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।
दलित भएकै कारणले आफ्नो छोरालाई झुठो आरोप लगाएर निर्घात कुटपिट गरी अन्याय गरेको विकासका बुबा शम्भु पासवानले दुखेसो पोखे । उनले छोरालाई कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गरेका छन् ।
२०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको थियो । यसै दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाइँदै आइएको छ । नेपालको वर्तमान संविधानको प्रस्तावनामा नै सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी सामाजिक न्यायको बाटोमा जाने संकल्प गरिएको छ ।
