भक्तपुर । सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नयाँ भवन निर्माण गर्ने भएको छ ।
नेपाल र भारतबाट आउने बिरामीको चाप बढ्दा भवन अभाव भएपछि मन्त्रिपरिषद््ले झौखेलमा अस्पतालको भवन निर्माण गर्ने निर्णय गरेसँगै सो अस्पताल त्यहाँ स्थानान्तरण हुने भएको हो ।
सरकारले साविक झौखेल गाविसको वडा नम्बर ३ को ६ रोपनी १ आना २ पैसा, सोही ठाउँको २५ रोपनी ५ आना २ पैसा गरी करिब ३२ रोपनी क्षेत्रफलको सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीतिबमोजिम ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को निर्णयसँगै भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भूमि व्यवस्थापन तथा अभिलेख विभागले यही जेठ १७ गते भूमिसुधार तथा मालपोत कार्यालयलाई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि पत्र पठाएपछि जिल्ला मालपोत कार्यालय भक्तपुुरले २०७८ जेठ १८ गतेदेखि २१०८ जेठ १७ गतेसम्म जग्गा लिजमा दिने सम्झौता गरेको छ ।
चाँगुनारायणकै दुवाकोटमा वीर अस्पतालसमेत निर्माण गर्न लामै पहलपछि सरकारले आगामी तीन वर्षभित्र अस्पतालको सबै भवन निर्माण गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी बजेटसमेत विनियोजन गरेको छ ।
२०७५ साउन २१ गते चाँगुनारायणकै वडा नं. ७ बागेश्वरीको ७० रोपनी जग्गा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई दिने नगरपालिकासहित सरोकारवाला निकायले सहमति गर्दै सरकारलाई पत्राचार गरेको थियो । तर अस्पताल प्रशासनले उक्त जग्गा अस्पतालका लागि टाढा भएको, पायक नपरेको र अन्त जग्गा नपाए मात्रै विकल्पको रूपमा राख्ने भन्दै चाँसो नदिएपछि अन्यत्र जग्गा खोजी भएको थियो ।
एमाले नेता महेश बस्नेतले उक्त अस्पतालको भवन निर्माणका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएपछि उपयुक्त ठाउँको छनोट गर्ने क्रममा विवादरहित झौखेलका लागि सहमति गरिएको बताउनुभयो ।
सरकारले नेपालकै केन्द्रीय अस्पतालको रूपमा मानव अङ्ग प्रत्यारोपण केन्द्रको स्थापना गर्दै भक्तपुरको दुधपाटीस्थित भक्तपुर अस्पतालका लागि निर्माण गरेको नयाँ भवनमा सुरुमा मिर्गौलाको बहिरङ्ग, अन्तरङ्ग, डायलोसिस र प्रत्यारोपण सेवा दिएको यो अस्पतालले हाल कलेजो प्रत्यारोपणदेखि अन्य शल्यक्रियासमेत गर्दै आएको छ ।
भारतदेखिका बिरामी आउने भएपछि सैया अभाव र सेवा विस्तारमा ठाउँ अभावले सोही भवनमा तला थप्ने, खाली ठाउँमा अस्थायी संरचना बनाउँदै सेवा दिँदै आएको छ ।

