काठमाडौं । काठमाडौं उपत्यकामा अब निर्माण सामग्री ढुवानीका सवारी साधन रातिको समयमा चल्न पाउने भएका छन् भने मर्निङ वाक र इभिनिङ वाक गर्न पाइने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबारको बैठकले एक सातादेखि गरिएको कडाइ कम गर्ने निर्णय गरेको हो।
जेठ ३१ गतेसम्म लागू हुने निषेधाज्ञामा स्वास्थ्य सामग्री, कृषि मल, बीउ तथा खाद्यान्न सामग्री ढुवानी गर्न पाइने तथा मर्निङवाक र इभिनिङ वाक गर्न खुल्ला गरिएको हो ।
तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र इन्धन, खाना पकाउने ग्यासलगायतका सवारी राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन हुने भएका छन्।निर्माण सामग्री ढुवानीका सवारी राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने भएका छन्।
तरकारी, फलफूल, खाद्यान्न, खानेपानी, ग्यास, किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी मर्मतका वर्कशप तोकिएको समयमा सञ्चालन हुने भएका छन्। तरकारी बजारबाहेक फुटकर सञ्चालन गर्न भने नपाइने भएको छ।
शैक्षिक संस्थाहरु बन्द नै रहने भए पनि वैदेशिक अध्ययनमा जाने विद्यार्थीको हकमा कूटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको छ।
कूटनीतिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न पाउने भएका छन्। अत्यावश्यक उद्योग तथा निर्माण कार्यका लागि कार्यस्थलमै श्रमिक राखेर सञ्चालन गर्न पाउने भएका छन्।
सूचना विभागको प्रेसपासका आधारमा पत्रकार र प्रेस पास नहुनेले जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास अनिवार्य गरिएको छ। यस्तै, प्रशासनले भिडभाडजन्य गतिविधिलाई भने रोक लगाएको छ ।