धनगढी । नेपाली सेनाले धनगढीमा फिल्ड अस्पताल निर्माण गरेको छ । अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्नुभएको छ ।
सेनाको सुदूरपश्चिम पृतना अन्तर्गत बोराडाँडी ब्यारेकमा फिल्ड अस्पताल निर्माण गरिएको हो । प्रधान सेनापति थापाले सुदूरपश्चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमणका क्रममा सो अस्पतालको उद्घाटन गर्नुभएको हो ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति थापाले फिल्ड अस्पताल, नेपाली सेना सुपथ मूल्य क्यान्टिनको धनगढी शाखा र तेघरीस्थित सैनिक शिविरको समेत उद्घाटन गर्नुभएको थियो । नेपाली सेनाका हिताधिकारीहरुलाई क्षेत्रगत रुपमा नै विभिन्न सुविधाहरु प्रदान गर्ने लक्ष्यका साथ यी संरचनाहरु तयार भएका हुन्।
साथै, उहाँले मध्यपश्चिम पृतना अन्तर्गत नवलपरासीमा तैनाथ कालीध्वज गण र उत्तरपश्चिम पृतना अन्तर्गत बाँकेमा तैनाथ अर्जुनवाण गणको बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्ष बारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधनसमेत गर्नुभएको थियो ।