काठमाडौं । कोरोना संक्रमित भएर उपचाररत विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको अवस्था अत्यन्त जटिल रहेको सो पार्टीले जनाएको छ । नेपाल मेडिसिटी अस्तपालमा भेन्टिलेटरमा रहेका थापाको उपचारको क्रममा उपलब्ध सबै विधिको प्रयोग गरिएको तर स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको बताइएको छ ।
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेता थापाको स्वास्थ्यका लाथि प्रार्थना गर्न अपिल गर्नुभएको छ । आइतबार साँझ ट्वीट गरी मिश्रले प्रार्थनामा शक्ति हुन्छ भन्दै उहाँको स्वास्थ्यका लाथि प्रार्थना गर्न अपिल गर्नुभएको हो ।
डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वल थापाको परिवार अत्यन्तै अनुग्रहित रहेको मिश्रले बताउनुभएको छ ।
थापा कोरोना भाइरसबाट संक्रमित भई करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराई विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँको उपचारका लागि देश विदेशबाट २६ लाख रुपैयाँ भन्दाबढी सहयोगसमेत जुटेको छ ।