काठमाडौं । थारु पत्रकार संघ, नेपालले आफ्ना सदस्यहरुको आकष्मिक सहयोगका लागि कोष खडा गर्ने भएको छ । शनिबार बसेको संघको भर्चुअल बैठकले थारु पत्रकारहरुलाई आवश्यक परेको बेला सहयोग गर्ने गरी कोष खडा गर्ने निर्णय गरेको संघका अध्यक्ष सन्तोष चौधरीले जानकारी दिनुभयो ।
कोषमा जम्मा भएको रकमले कोरोनाबाट संक्रमित थारु पत्रकारहरुलाई स्वास्थ्य उपचार, स्वास्थ सामग्रीमा सहयोग तथा राहतको लागि सहयोग गरिने छ । त्यसका लागि संघको नाममा रहेको राष्ट्रिय वाणिज्य वैंक लि. पुतलीसडक शाखा खाता नं ११३०१००००३४०५००१ मा रकम जम्मा गर्न संघले आग्रह गरेको छ ।
बैठकले थारु पत्रकारको ज्यूज्यानको सुरक्षा तथा आवश्यक स्वास्थ्य सामग्रीका लागि सम्बन्धित निकायसँग पहल गर्ने निर्णय पनि गरेको छ ।
कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार लक्की चौधरीले थारु पत्रकारको आकस्मिक सहयोगका लागि कोष खडा गर्न सुझाव दिनुभएको थियो भने सल्लाहकारद्वय कृष्णराज सर्वहारी र प्रदीप लेखीले थारु पत्रकारबीचको एकतामा जोड दिनुभएको थियो ।
बैठकमा पूर्व मोरङदेखि पश्चिम कञ्चनपुरसम्मका थारु पत्रकारहरुले आ–आफ्नो जिल्लाको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । कार्यक्रममा अहिलेसम्म ७ जना थारु पत्रकार कोभिडबाट संक्रमित र दुई जनाको निधन भएको जानकारी दिइएको थियो ।
अध्यक्ष सन्तोष चौधरीको अध्यक्षता र महासचिव सन्तकुमार चौधरीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष उन्नति चौधरीले स्वागत गर्नुभएको थियो ।