काठमाडौँ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्र रूपमा फैलिएकाले रुघाखोकी, ज्वरो, जिउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा चिकित्सकहरूले जोड दिएका छन् ।
बागमती सफाइ महाभियान र “हामी तपाईंको साथमा” नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको “अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?” विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरो मात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गर्नुभयो ।
सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन, किन जाँच गर्ने भनेर नबसी स्वास्थ्यजाँच गरी ढुक्क हुनुपर्ने उहाँले बताउनुभयो । ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो भएकाले स्वास्थ्य सतर्कता अपनाउन दासले अनुरोध गर्नुभएको हो ।
सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने चिकित्सकको अनुभव छ ।
पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरेकामा दोस्रो चरणमा धेरै युवालाई समातिरहेको छ । बालबालिका पनि प्रभावित हुन थालेका छन् । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । बिरामीले आफैँ औषधि किनेर खाने नगरी चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिनुभएको छ ।
जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी नागरिकलाई खोप नलगाएसम्म स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव उहाँको छ । प्रशस्त मात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उहाँले सल्लाह दिनुभएको छ । छ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल चिकित्सककहाँ जान चिकित्सकले सुझाव दिएका छन् ।
दोस्रो लहर अझै १० दिनसम्म रहनसक्ने दासको भनाइ छ । दोस्रो चरणमा धेरैलाई निमोनिया भइरहेको छ ।
कार्यक्रममा पूर्व मुख्यसचिव एवम् सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेल, अभियानकर्मी राजकुमार भट्टराईलगायतले आम मानिसमा चेतना जागृत गर्न जुम प्रविधिका माध्यमबाट साप्ताहिक रूपमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
महाभियानले प्रत्येक दिन बिहान ६ः३० बजेदेखि एक घण्टासम्म कोरोनाबाट बच्न सहयोग पुग्ने प्राणायाम, योगासनलगायत साधनासमेत गराइरहेको छ ।