काठमाडौं । यसवर्ष देशका विभिन्न जिल्लामा फौजी किराका कारण धानबालीमा ठुलो नोक्सानी भएको छ । भित्र्याउने बेला भएको धान फौजी किराले नष्ट पारेपछि किसानहरु चिन्तित बनेका छन् ।
दिन भरी धानको गाजमा लुक्ने र रात परे पछि यो किराले धानका बाला काटेर भुईमा झार्ने गर्छ । समुहमा रही फौजी शैलीमा धान बालीमा आक्रमण गर्ने हुंदा यो किरालाई स्थानीय स्तरमा फौजी किरा भनेर चिनिएको छ । किराको यस्तो प्रकोप देखिन थाले पछि कृषकहरुले धान बाली पुर्ण रुपमा पाक्नु अगावै धान काट्न थालेका छन् ।
फौजी किराको प्रकोप पूर्वदेखि पश्चिमसम्म र पहाडदेखि तराईसम्मै छ । फौजी किराले धानबाली नोक्सान पारेपछि कैयौँ परिवारको विचल्ली हुने भएको छ । बाढी पहिरो र असिनाबाट बचेको धानबालीमा फौजी किरा लागेपछि अब वर्षभरी के खाने भन्ने चिन्ता धेरैका लागि थपिएको छ ।
विगत केही वर्षदेखि धानको उत्पादन वृद्धि हुँदै गइरहेको भए पनि यसपालि घट्ने देखिएको विज्ञहरूले बताएका छन् । धान रोप्ने समयमा पर्याप्त वर्षा नहुनु, पछि मलको अभाव हुनु र केही स्थानमा रोपिएको धानमा बाला नलाग्नु जस्ता कारणले धानको उत्पादन घट्ने देखिएको थियो । त्यहीँमाथि पाक्ने बेलाको धानमा फौजी किरा लागेपछि धान उत्पादन झन् न्युन हुनेछ ।
गत वर्ष नेपालमा हालसम्मकै सबैभन्दा धेरै अर्थात् ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । त्योभन्दा अघिल्लो वर्ष ५२ लाख मेट्रिक टन धान फलेको थियो ।
नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिक्षेत्रको योगदान करिब २७ प्रतिशत रहेको छ भने कृषिको कुल गार्हस्थ उत्पादनमा धानले झन्डै २५ प्रतिशत योगदान दिन्छ । नेपाल धानमा आत्मनिर्भर हुन गत वर्ष फलेको भन्दा करिब १० लाख मेट्रिक टन बढी धान उत्पादन हुनुपर्ने सरकारी आँकडाले देखाउँछ । तर, विविध कारणले धान उत्पादन घट्दै गएको कृषि विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा तीन अर्ब ८० करोड रुपैयाँ बराबरको चामल भारतबाट आयात भएको राष्ट्रबैंकले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा उल्लेख छ ।
