काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४५ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ ।
नेपालमा कोरोनाबाट पहिलो मृत्यु गत वर्ष २०७७ साल जेठ ३ गते भएको थियो । मन्त्रालयका अनुसार आज देशभर १ लाख १० हजार ३६३ जना सक्रिय संक्रमित देखिएका छन्।
नेपालमा हालसम्म ४ लाख ५५ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वमा हालसम्म १६ करोड ३१ लाख ६४ हजार ६१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ३३ लाख ८३ हजार ७१८ जनाको निधन भइसकेको छ ।
७४ जिल्लामा निषेधाज्ञा जारी
मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन्। आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
अब निषेधाज्ञा जारी गर्न बाँकी जिल्लामा मनाङ, तेह्रथुम र खोटाङ छन्। सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।
तथ्यांकले संक्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञालाई जारी राखेका हुन्। पछिल्लो समय गाउँगाउँमा संक्रमण फैलिँदो क्रममा रहेको स्वास्थ्यविज्ञ डा. विराज कर्माचार्यले बताउनुभयो ।
नेपालमा गत वैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा संक्रमणमा आएको बढोत्तरीसँगै समय थप गरेर अझै आदेशलाई कडाइ गरिँदै छ। पछिल्लो समय कतिपय जिल्लाले दुई हप्ताका लागि आदेश थप गरेर कार्यान्वयनमा लगेका छन् भने कतिपय जिल्लाले हप्ता–दश दिन तोकेर थप गर्दै कोभिड–१९ संक्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन्।
पछिल्लो समय भने निषेधाज्ञाको असर विस्तारै देखिन थालेको छ जसका कारण सङ्क्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको छ। आज मात्रै संक्रमणदर सात हजार ३६८ हुँदा निको हुने दर भने ६ हजार ६४८ रहनाले सकारात्मक रुपमा लिन सकिने स्वास्थ्यविज्ञले बताएका छन्। अझै निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको गृह मन्त्रालयले जनाएको छ।