काठमाडौं । वैदेशिक रोजगारीको सिशलशिलामा खाडी मुलुकहरुमा पुगेका नेपालीले पठाएको ५६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा ती सिलिण्डर नेपाल ल्याइएको हो ।
गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन सिलिन्डर नेपाल ल्याइएको हो । सिलिन्डर ७५ लाख रुपैयाँ बराबरको रहेको छ ।
ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत ती अक्सिजन सिलिन्डर नेपाल पठाइएको गैरआवासीय नेपाली संघले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नेपाल ल्याइएका ती अक्सिजन सिलिन्डर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस् भनेर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको जनाइएको छ ।
यसअघि संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले आफ्ना विश्वभर छरिएका राष्ट्रिय समितिहरुलाई परिचालन गर्ने निर्णय गरेको थियो । संघका महासचिव डा. हेमराज शर्माका अनुसार हाल विभिन्न देशमा रहेका संघका शाखा मार्फत नेपालमा आर्थिक तथा भौतिक सहयोग गर्ने क्रम सुरु भैसकेको छ ।
यस्तै एनआआरएन अमेरिकाको सहयोगमा जनकपुरमा आइसोलेशन सेन्टरको स्थापना गर्ने तयारी गरिएको छ । एनआरएनए अफ्रिकाद्वारा १० जिल्लामा अक्सिजन वितरण भैसकेको संघले जनाएको छ ।
नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरुआत भए यता कोभिडको दोश्रो लहरमा संघले चीनबाट १ सय थान अक्सिजन कन्सरट्रेटर नेपाल पठाउने निर्णय गरेको थियो ।