काठमाडौं । अक्सिजन अभावले धमाधम बिरामीको ज्यान जान थालेपछि राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले फेसबुकमा भावुक स्ट्याटस लेख्नुभएको छ । सरकारले कोभिड डेडिकेटेड अस्पताल घोषणा गरेपनि ट्रमा सेन्टरमा अक्सिजन दिन नसक्दा उपचारमा संलग्न चिकित्सकहरु लाचार बनेका छन् ।
अस्पतालका निर्देशक डा. पौडेलले ट्रमा सेन्टरका लागि राखिएको अक्सिजनसमेत प्रहरीले उठाएर लगेपछि चारैतिर भनसुन गर्दासमेत अक्सिजन नपाएको गुनासो गर्नुभएको छ । अक्सिजनकै कारण बिरामीलाई बचाउन नसकेको भन्दै उहाँले क्षमा माग्नुभएको छ ।
डा. पौडेल लेख्नुहुन्छः
अत्यन्तै मर्माहत छु साथीहरू ’
साँझ ५ः४९ बजे
आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरि हस्पिटलबाट फोन आयो ।
‘सर, अक्सिजन सकिनै लाग्यो !’
‘कसरी ? आज त हामीहरुलाई ५० सिलिण्डरकाका दरले ४–४ घण्टामा दिने हैन र ?’
‘हो सर, तर ४ बजे आउनुपर्ने ग्यास अझै आएन । सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन ? अब १५ मिनेटलाई मात्र पुग्छ।’
मैले कम्पनीको ‘वनर’ सँग फोन गर्छु, ‘…जी खैत आज पनि त्यस्तै भो किन ? बिरामी त मर्छन् केहिबेरमा यदि अक्सिजन भएन भने त । ४ बजे नै आउनुपर्ने किन ढिला भयो त ?’
ऊः सर हजुरहरुलाई राखेको अक्सिजन सिलिन्डर पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए। हामीले के भन्ने सर, जबरजस्ती गरेपछि !
म ट्वाँ ! (रिस र पीडाले रुन मात्र सकिन)
मः अब के हुन्छ ?
ऊः हैन सर १० वटा पठइदिहाल्छु ।
मः यार तपाई ! मानिसहरु भेन्टिलेटरमा छन्, अक्सिजन बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई ? ती मानिसको मृत्यु भएमा जिम्मेवार को ? तपाई कि म ? कि ती ‘ठूला पुलिस’ ?
ऊः सर त्यो त म के भनुँ ।
निःशब्द !
त्यसपछि गृह सचिवज्यूलाई फोन गरेँ र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू ?, बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस् !
उताः ‘…यस्तै हो.. म बुझ्छु …!’
पीडा छ हजुर
जीवनमा डाक्टर भएँ । मानव जीवनलाई माया गरेँ।
आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु,
मजस्तै जीवनहरु तिमीहरुलाई बचाउन सकिन, माफ गर
‘हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु !’
सरकारले देशभरका कोभिड अस्पताललाई हेर्ने गरी ट्रमा सेन्टर र वीर अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेको छ । यद्यपि सोही अस्पतालमा अक्सिजनको अभावले नेपालको स्वास्थ्य क्षेत्र संकटमा परेको देखाउँछ ।
अक्सिजन अभावले अहिले देशैभरका अस्पतालमा बिरामीहरु धमाधम मृत्युको मुखमा पुगिरहेका छन् । चिकित्सक र बिरामीका आफन्तले अक्सिजनका लागि चारैतिर हारगुहार गरिरहेका छन् । तर, सरकारले अवस्था भयावह बन्दासमेत गम्भीरता देखाएको छैन ।

