काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले जेठ १२ गतेसम्म निषेधाज्ञा थप्ने तयारी गरेका हुन् ।
निषेधाज्ञालाई थप कडा पार्ने गरी छलफल भइरहेको काठमाडौं जिल्ला प्रशासन स्रोतले जानकारी दिएको छ । अब काठमाडौं उपत्यका प्रवेश र बाहिर जान तथा अति आवश्यक बाहेकका कार्यालय खोल्न रोक लगाइने गरी तयारी भइरहेको स्रोतले बतायो ।
तीन वटै जिल्लाले आइतबार र सोमबार आन्तरिक रुपमा स्थानीय तह, सुरक्षा निकाय र व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका छन् । छलफलमा सबै जिल्लामा निषेधाज्ञा लम्ब्याउने सहमती जुटेको हो ।
सरकारले ठूला सहरमा ५०० बढी संक्रमित भए र पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्न सक्ने अधिकार दिएको छ ।
उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा २९ गते सकिने छ । त्यसअघि नै थप निर्णय गर्ने तयारी भएको हो ।