काठमाडौं । काठमाडौंका चार ठूला अस्पतालले अक्सिजन अभाव देखाउँदै कोरोना संक्रमितको उपचार गर्न नसक्ने बताएका छन् ।कोरोनाबाट संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन अक्सिजनको अभाव पछि चार अस्पतालले संयुक्त विज्ञप्ति प्रकाशित गरी उपचार गर्न नसकिने बताएका हुन् ।
चाबहिल क्षेत्रमा रहेका मेडिकेयर अस्पताल, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले आज संयुक्त विज्ञप्ति जारी गरी अक्सिजनको चर्को अभाव भएकाले पूर्ण क्षमतामा संक्रमितको उपचार गर्न नसकिएको जनाएका छन् । ती अस्पतालले अब नयाँ बिरामी भर्ना लिन नसकिने पनि प्रष्ट पारेका छन् ।
ती अस्पतालले अक्सिनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा ल्याइने बताएका छन् । सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ ।
राजधानी लगायत देशका कतिपय अस्पतालमा अक्सिजन अभावका कारण बिरामीको मृत्यु भएको समाचार आइहेका छन् । शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई संक्रमितको मृत्यु भएको थियो ।