काठमाडौं । सर्वोच्च अदालतको आदेशमा उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई रिहा भएका छन् ।
न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गैरकानुनी रुपमा थुनामा राखिएको ठहर गरेको हो ।
नेपाल पत्रकार महासंघ शाखा ललितपुरका सचिव रामहरी कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा शुक्रबार सुनुवाई गर्दै रिट जारी गर्ने सर्वोच्चले फैसला गरेको गरेको हो । गत वैशाख १२ गते तामाङद्वयलाई प्रहरीले पक्राउ गरेको थियो ।
उक्त अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर प्रमुख सामन्त गोयलबीच गोप्य सहमती भएको भन्दै समाचार प्रकाशन गरेको थियो । पछि उक्त समाचार गलत भएको भन्दै माफी मागेर हटाएपनि प्रहरीले उनीहरुविरुद्ध नक्कली कागजात तयार गरेको र राज्य विरुद्धको कसुर गरेको आरोप लगाएर पक्राउ गरेको थियो ।
समाचार लेखेको विषयमा प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार महासंघ लगायत विभिन्न संगठनले समेत त्यसको विरोध गरेका थिए ।