काठमाडौं । नेपाल पत्रकार महासंघले नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा ५ सय १७ जना पत्रकारहरु पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ । सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले सो जानकारी दिनुभएको हो ।
अध्यक्ष पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह गर्नुभएको छ । अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीका कारण पत्रकारहरु पीडित हुने अवस्था रहेको भन्दै पत्रकारहरुलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृह हरुलाई आग्रह गर्नुभएको हो । पत्रकारको पेसागत सुरक्षा, सेवा सुविधाको सुनिश्चितताका लागि सञ्चारगृहहरुलाई प्रतिवद्धता जनाउनको लागि अपिल पनि गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोरोना भाइरस संक्रमणका कारण संसारभरको पत्रकारितालाई रक्षात्मक अवस्थामा पु¥याएको बताउनुभयो । महामारीको वीचमा पनि पत्रकारहरुले जनतालाई सुसुचित गर्ने, सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र गलत क्रियाकलापको आलोचनामा खरो रुपमा उत्रिएको उहाँको भनाई छ । कोरोनाको बाहानामा सञ्चारकर्मीलाई बिस्थापित गर्नेहरुको विरुद्धमा पत्रकार महासंघ सशक्त ढंगले अगाडी बढ्ने उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेलामा पत्रकारलाई केन्द्रीत गरेर सुरक्षाका उपाय अपनाउन निर्देशिका जारी गरेकाले सो निर्देशिकाको पालना गर्न अनुरोध गर्नुभयो । कोरोना बाहानामा सञ्चारगृहबाट पत्रकारलाई निष्काशन गर्नेलाई कारबाही गर्नुपर्ने उहाँको भनाई छ । पत्रकारलाई पुनस्र्थापित गर्नका लागि महासंघले जस्तोसुकै आन्दोलन गर्न पनि तयार भएको उहाँले बताउनुभयो ।