काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरिराखिएको भारतीय नम्बरको कारभित्र भेटिएका तीन शव एकै टोलका बालकको भएको खुलासा भएको छ । शनिबार राति भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र ३ वटा शिशुको शव भेटिएको थियो ।
सो खबर पाएलगत्तै प्रहरी टोली पुगेर हेर्दा तीनै जना बालक र उनीहरू एकै टोल– तुलसीपुर उपमहारनगपालिका वडा नम्बर ६ कै बरुवा गाउँका भएको खुलेको हो । प्रहरीका अनुसार वैशाख १६ गतेदेखि हराइरहेका तुलसीपुर-६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करणको शव वैशाख १८ गते साँझ कारभित्र मृत अवस्थामा भेटिएका थिए ।
गत वर्षको माघ १ गतेदेखि पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारमा ३ जना बालकको शव भेटिएपछि भारतबाट उक्त कार ल्याउने यादब प्रसाद गैरे पदम बस्नेतलाई शनिवार साँझ नै पक्राउ गरिएको थियो ।
दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार बालकका शरीरमा कुनै चोटपटक छैन भने हत्या हो वा अन्य किसिमको मृत्यु, अहिल्यै भन्न सकिने अवस्था छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
भारतीय गाडीमा तीन शिशु मृत फेला
