काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि अब अस्पतालमा बेड उपलब्ध गराउन सक्ने अवस्था नरहेको बताएको छ । शुक्रबार सर्वसाधारणलाई अपिल जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा राखेर हेरचाह गर्न शैय्या (बेड) उपलब्ध गराउन नसकिने जनाएको हो ।
मन्त्रालयले २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी बढिरहेको जनाएको छ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको भन्दै कुनै पनि माध्यमबाट देश तथा विदेश जाने आउने कामहरु पूर्णरुपमा बन्द गर्न आग्रह गरिएको छ ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण फैलिने दर डरलाग्दो रहेको छ।
कोभिड–१९ को संक्रमण नेपालमा हाल निकै नै उच्च गतिमा फैलिरहेको भन्दै मन्त्रालयले सर्वसाधारणलाई संवेदनशील हुन अपिल गरेको छ । जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।

