काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पार्टी सदस्य टिकाबहादुर जिसी (का. हिमाल) को निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । प्यूठान जिल्लाको झिम्रुक गाउँपालिका वडा नं ५का जिसीको मंगलबार काठमाडौको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मृत्यु भएको मसालले जनाएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले प्रेशित गर्नुभएको शोक वक्तव्यमा उहाँको मृत्युबाट पार्टीले एक दृढ, अनुशासित र होनाहार पार्टी सदस्य गुमाएको उल्लेख गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
यस्तो छ वक्तव्य
कामरेड टिकाबहादुर जिसी(का. हिमाल)को २०७८बैशाख १४ गते काठमाडौको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले गहिरो दुःख प्रकट गर्दछौँ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । सामाजिक जीवनमा वकिल भनेर चिनिने कामरेड टिकाबहादुर जिसी प्यूठान जिल्ला झिम्रुक गाउँपालिका वडा नं ५ पार्टी समितिको सदस्य हुनुहुन्थ्यो । उहाँ आफ्नो विचारप्रति दृढ र अडिग व्यक्ति हुनुहुन्थ्यो । प्रतिकूल परिस्थितिमा पनि उहाँले कम्युनिस्ट विचारप्रति प्रतिवद्ध रहेर पार्टीमा काम गर्नुभएको थियो । उहाँ पार्टीप्रति वफादार, इमान्दार र अनुशासित भएर पार्टी निर्णयलाई कार्यान्वयन गर्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीले एक दृढ, अनुशासित र होनाहार पार्टी सदस्य गुमाएको छ । त्यसबाट पार्टीलाई गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले का. टिकाबहादुर जिसीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०७८ बैशाख १४ गते ।
मोहनविक्रम सिंह
महामन्त्री
