कोरोना संक्रमणबाट बालबालिकालाई बचाउनका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका अभिभावकको हुन्छ । बालबालिकासँगै रहने अभिभावकले सतर्कता अपनाउनुपर्छ।
खेलकुदका सुरक्षित स्थानको व्यवस्थापनदेखि उनीहरूको मानसिक स्वास्थ्यमा प्रभाव नपरोस् भनेर बालबालिकाहरूको उमेरका हिसाबले सृजनात्मक क्रियाकलापमा लगाउन चाँजोपाँजो मिलाउन अभिभावकले भूमिका खेल्नुपर्ने हुन्छ ।
सरकारले बालबालिकाहरूलाई सङ्क्रमणबाट जोगाउनका लागि ठुला सहरहरूमा विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ। यस्तो अवस्थामा घर भित्रबाहिर गर्ने अभिभावकहरूले घर आउनासाथ सिधै बालबच्चालाई समात्न हुँदैन ।
भाइरस जेमा पनि हुन सक्ने हुँदा जहाँतहीँ मास्क नफालौँ, बाहिरको कपडा पनि छुट्टै राखौँ । सकिन्छ भने नुहाएर मात्रै बालबालिका समाउने गरौँ ।
बालबालिकाहरूलाई कोरोनाभाइरसका नकारात्मक पाटाहरू भन्दा सकारात्मक कुराहरु बताऔँ । ‘यति मृत्यु भयो, यति बिरामी भयो भन्दा यति निको पनि भएका छन्’ भनेर सकारात्मक सोच आउने खाले सन्देश दिनुपर्छ ।
बालबालिकाहरू घरमै बस्ने हुँदा उनीहरूको सर्वाङ्गीण विकासका साथै पोषणका कुराहरूमा पनि ध्यान दिनुपर्छ ।
सामान्यतया बच्चाको अवस्था नराम्रो रहेको अभिभावकहरूलाई थाहा हुन्छ । बच्चाले राम्रोसँग खाइरहेको छैन, सास फेर्न छिटोछिटो गरेको छ, खेल्न मन गरेको छैन, पखाला छ, खोकी लागेको छ वा सबैभन्दा महत्त्वपूर्ण ज्वरो छ भने चिकित्सकको सल्लाह लिनुपर्छ र बेलैमा परीक्षण गर्नुपर्छ ।
बेलैमा अवस्था थाहा पाए उपचार गर्न सहज हुन्छ । उपचारका क्रममा चिकित्सकलाई सही सूचना दिन पनि जरुरी हुने गर्दछ ।
डा. कृष्णप्रसाद पौडेल बालरोग विशेषज्ञ , इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक (बीबीसीले गरेको कुराकानी)