काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय र पहाडमा २ सय संक्रमित भेटिएमा स्थानीय स्तरमा निषेधाज्ञा गर्न सकिने निर्णय गरेको छ ।
आइतबार बसेको सीसीएमसी बैठकले संक्रमित संख्याका आधारमा लकडाउन वा निषेधाज्ञा जारी गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ । सीसीएमसीको निर्णयसँगै काठमाडौं लगायतका ९ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने संकेत देखिएको छ ।
अहिले काठमाडौं लगायतका केही जिल्लामा संक्रमतिहरुको संख्या ५ सय नाघिसकेको छ। काठमाडौं, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।
सबै परीक्षा स्थगित
सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सीसीएमसीको बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको जनाइएको छ । कोरोनाको जोखिम कम भएपछि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने जनाइएको छ ।