काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघ दाङ शाखाका सदस्य दामोदर अधिकारी र झापा शाखाका सदस्य कमल मिश्रको कोरोना संक्रमणका कारण निधन भएकोप्रति दुःख व्यक्त गरेको छ । बिहीबार शोक विज्ञप्ति प्रकाशित गरी महासंघले पत्रकारद्वय अधिकारी र मिश्रप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
दाङको घाराही–१७ निवासी ४१ वर्षीय पत्रकार अधिकारीको काठमाडौंमा उपचारका क्रममा वैशाख ७ गते मंगलबार निधन भएको थियो भने झापाबाट पत्रकािरता सुरु गरी हाल काठमाडौंमा पत्रकारिता गरिरहेका मिश्रको वैशाख १ गते राति ४९ वर्षको उमेरमा काठमाडौंस्थित टेकु अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
कोरोनाकै कारण यसअघि ६ जना पत्रकारको निधन भएको र ४ सयभन्दा बढी संक्रमित भएको महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको दर दिनानुदिन बढिरहेको भन्दै संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न अपिल गरिएको छ ।