काठमाडौं । भारतीय राजदूतावासले नेपालको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ संस्थाहरुलाई ४९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस हस्तान्तरण गरेको छ । बिहीबार दूतावासले एक कार्यक्रम आयोजना गरी ती एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो ।
यी संघ संस्थाहरु नेपालका विभिन्न जिल्लामा छरिएर रहेका छन्। ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । यी एम्बुलेन्स र स्कुल बसको हस्तान्तरण हाल सञ्चालन भइरहेको ७५औँ भारत स्वतन्त्रता दिवसको उत्सवको एक हिस्साको रुपमा रहेको भारतीय दूतावासले जनाएको छ ।
सन् १९९४ यता भारतीय राजदूतावासले आजको समेत गरि हालसम्म झण्डै ८६२ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ। यो वर्ष राजदूतावासले ‘एडभान्स लाइफ सपोर्ट, ब्यासिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट’ गरि तीन किसिमको एम्बुलेन्स प्रदान गरेको छ। यी एम्बुलेन्सहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप निर्माण गरिएका हुन् ।
त्यसैगरि राजदूतावासले आज प्रदान गरिएका ६ समेत गरि हालसम्म १६६ वटा स्कूल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ ।
