काठमाडौं । २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको यही वैशाख ११ गते उद्घाटन गरिँदैछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएपछि वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।
यसै क्रममा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले धरहरा स्तम्भको अवलोकन गर्नुभएको छ । सो क्रममा वैैशाख १० गते भित्र धरहरा स्तम्भ भित्र गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गर्न निर्देशन समेत दिनुभयो ।
धरहरामा धरहरा स्तम्भसँगै कार पार्किङ स्थल, उद्यान, म्युजियम लागयतका संरचनाहरु बन्नेछन् । अहिले धरहरा स्तम्भको मात्रै निर्माण सम्पन्न भएको हो । बाँकी काम पनि धमाधम भइरहेको मानन्धरले बताए। विशुद्ध पर्यटकीय स्थलका रुपमा निर्माण गरिएको धरहरामा मिन्ट म्युजियम र अर्थ क्वेक म्युजियम रहनेछन्।
धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी लिफ्ट हुनेछन्। धरहराको २० औं तलामा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नका लागि सिसाले घेरिएको भ्यु डेक बनाइएको छ । धरहराको कुल उचाई २ सय ४५ फिट रहेको छ ।