काठमाडौं । गएको २४ घण्टामा नेपालमा एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, ८५३ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा आज ४३५ जना संक्रमित देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौंमा ३२६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार आज कोरोना संक्रमणम मुक्त भएर २६२ जना डिस्चार्ज भएका छन् ।नेपालमा आज १४६ जना आईसीयूमा उपचाररत छन् भने ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै, मन्त्रालयका अनुसार हालसम्म पाँच वर्ष मुनिका तीन हजार पाँच सय ६५ जना बालबालिका संक्रमित भइसकेका छन्। आज ५१ बालबालिका सक्रिय संक्रमित रहेका र हालसम्म पाँच वर्ष मुनिका १० बालबालिकाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकालाई कोरोना संक्रमणको जोखिम शून्य हुन्छ भन्ने एक चिकित्सकको लेखप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्तै, मन्त्रालयले वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरिने पनि जानकारी दिएको छ।