काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ४२ वर्षीय राजु बोहराको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । सिमावर्ती भारतीय बजार सम्पूर्णानगरमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा बोहराको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सोही नगरपालिका–६ हात्तीबोझाका अन्दाजी ३० वर्षीय शिवदत्त रानाको उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीका अनुसार शनिबार साँझ भारतको उत्तरप्रदेश स्थित सम्पूर्णानगर बजार नजिकै सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक बोहराको घटनास्थल मै मृत्यु भएको हो । हावाहुरीले सडकछेउमा लर्किएको रुखमा मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको भारतीय प्रहरीलाई उदृत गर्दै नेपाल प्रहरीले जनाएको छ ।
मृतकको शव भारतको लखिमपुरस्थित अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताउनुभयो ।
मृतक बोहरा महाकाली माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक प्रेम सिंह बोहराका माहिला छोरा हुन् । यस अघि उहाँका जेठा छोरा प्रहरी निरीक्षक केशव बोहराको टिकापुर घटनामा मृत्यु भएको थियो ।
