काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको गाडी प्युठानमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । बुधबार बिहान जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको लु १ ज १६५५ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुई जनाको घटनास्थलमै र बाँकीको उपचारको क्रममा ज्यान गएको हो । जिपमा १६ जना सवार रहेको बुझिएको प्रहरीले जनाएको छ । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ पठाइएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
ज्यान गुमाउनेमा स्याङ्जा घर भई हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृत ३८÷३९ वर्षीय श्याम न्यौपाने, जीपका चालक गुल्मी मुसिकोट नगरपालिका ३ का २२ वर्षीय केशव कार्की, प्रशासनका कर्मचारीहरु गुल्मीका ३५÷३६ वर्षीय सुर्य पन्थी, ईश्वर भण्डारी र २७/२८ वर्षीय एक पुरुष रहेका छन् । उनको गाडीमा च्यापिएको अवस्थामा शव फेला परेको र पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।
यस्तै घाइते हुनेमा गुल्मी रेशुङ्गा नगरपालिका ४ का २३ वर्षीया सुनिता कडेल, २९ वर्षीया बसन्ती पौडेल र उनकी ४ वर्षीया छोरी निकिता पौडेल रहेका छन् । निकिताको अवस्था सामान्य र अन्यको मध्यम रहेको प्रहरीले जनाएको छ ।
यस्तै सोही स्थानका ३० वर्षीया गिता बोहरा मुखिया र उनका १० वर्षीय छोरा अनिस मुखिया, गुल्मी चन्द्रकोट गाउँपालिका ८ की २४ वर्षीया तारा भण्डारी, ६ वर्षीय आशिष भण्डारी, गुल्मीको मुसिकोट नगरपालिका ६ का ३३ वर्षीय दिल बहादुर थापा र २७ वर्षीया कमला पन्थी ज्ञावली रहेका छन्। उनीहरुको अवस्था मध्यम छ ।
गुल्मीको मुसिकोट नगरपालिका ६ का १२ वर्षीय सार्थक ज्ञावली र प्यूठान माण्डवी गाउँपालिका ३ का ३७ वर्षीय सन्जिव परियारको अवस्था गम्भीर रहेको छ ।
बिहान साढे ११ बजेको समयमा प्यूठानको स्वर्गद्वारी नगरपालिका २ रुमालेमा जीप दुर्घटना भएको थियो । गुल्मीको रेशुङ्गा नगरपालिका ८ लाकुरी मन्चबाट स्वर्गद्वारी दर्शन गर्न गएका उनीहरु सवार जीप ओभरटेक गर्ने क्रममा सडकबाट डेढसय मिटर तल खसेको थियो ।