काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया गएका १२ नेपाली युवाको शव एकै दिन नेपाल आएको छ । आइतबार त्रिभुवन विमानस्थलमा ती नेपाली युवाको शव आइपुगेको हो ।
ती मध्ये दुई जना गोरखाका युवा रहेको पूर्वप्रधानमन्त्री एवम् गोरखाबाट प्रतिनिधित्व गर्ने सांसद डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
डा. भट्टराई लेख्नुहुन्छ, ‘कस्तो दुखद अवस्था ! वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! ती मध्ये गोरखा २ सिरानचोक–५ का सूर्य विक (२८वर्ष) र गोरखा नपा–१२का मेघबहादुर कुॅवर (२७ वर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र !’
कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो!तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आॅसु थामिन्थ्यो र! pic.twitter.com/79O6XWtIIc
— Baburam Bhattarai (@brb1954) April 4, 2021
मलेसियामा ज्यान गुमाएका महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइतबार ल्याइएको हो ।
भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ ।
रोजगारीका क्रममा रहेका र विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव एकैसाथ ल्याइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।