काठमाडौं । नेपालमा बसेर बाल यौन दुराचार गरेको आरोपमा प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अमेरीकन नागरिक ६६ वर्षीय माइकेल नर्मन टेलर (राहदानी नं ५६६९९२३०७) लाई पोखरा महानगरपालिका–१८ सेदी स्थित विष्णु होमस्टेबाट पक्राउ गरेको हो ।
अमेरिकामा रहँदादेखि नै बाल यौन दुराचार गर्ने मनसायले नेपाली बालवालिकाहरुसँग नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचना एवम् जानकारीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले निरन्तर निगरानी पछि उनलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका ती अमेरिकी नागरिकलाई बालयौन दुरुपयोग गरेको कसुरमा आवश्यक अनुसन्धान गरी कारबाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ ।
सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएका उनीविरुद्ध सन् २०१९ मा तीन जना बालबालिकाहरुलाई बाल यौन दुरुपयोग गरेको आरोपमा पीडित बालक एवं अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त परेको थियो ।