काठमाडौँ । क्यान्सरबारे सचेतना फैलाउनुका साथै प्रभावित तप्कालाई आवश्यक सरसहयोग गर्दै आएको संस्था नेपाल क्यान्सर सर्भाइबर्स सोसाइटीले नयाँबजारस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा २०७७ चैत १३ गतेका दिन विद्यालयस्तरीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
स्कुलमा अध्ययनरत विद्यार्थीमा क्यान्सरको जोखिमबारे बेलैमा जानकारी गराउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले बालबालिकामा क्यान्सरको जोखिमबारे जानकारीमूलक प्रस्तुतीकरण दिनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष प्रमिता खनालले आफ्नो संस्थाको बारेमा, आधारशिला कलेजका डा. सुगीता शाहले स्कुली बालबालिकाको स्वास्थ्यका बारेमा, नार्कोनन नेपालकी निर्देशक पूजा कुँवरले क्यान्सरसम्बन्धी आफ्नो अनुभवको बारेमा र सजिना पाण्डेले बच्चाहरूको मासिक धर्मको बारेमा प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रमका सहयोगी संस्था हिमालयन बैङ्कका चिफ म्यानेजर विजय नकर्मीले पनि मन्तव्य राख्दै विद्यालय स्तरमा गरिने यस खालको कार्यक्रमले क्यान्सरजस्तो रोगबारे बहुमूल्य जानकारी विद्यार्थी, अभिाभावक हुँदै सिङ्गो समाजमा पु¥याउने भएकाले आफूहरूले यस खालको कार्यक्रमलाई सहयोग गरेको बताउनुभयो ।

त्यसैगरी सोसाइटीकी कोषाध्यक्ष बिनु केसीले संस्था र क्यान्सरसम्बन्धी आफ्ना अनुभव पस्कनुभएको थियो ।
कार्यक्रमका सञ्चालन सोसाइटीकी उपाध्यक्ष रूबी रजकले गर्नुभएको थियो ।
अक्सफोर्ड माध्यमिक विद्यालय र इन्नोभेटिभ फाउन्डेसन फर हेल्थ एन्ड रिसर्च (आई.एफ.एच.आर.) को सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ८, ९, १० र ११ का ७० भन्दा बढी विद्यार्थी तथा अन्य गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

