काठमाडौं । नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार आएको विश्व वैंकले जनाएको छ । विश्व वैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको डुइङ विजनेश इन्डेक्स (व्यवसाय गर्ने वातावरण) १६ स्थान माथि उक्लिएको छ । यसअघि ११० औं स्थानमा रहेको नेपाल १६ औं स्थान माथि उक्लिएर ९४ औं स्थानमा पुगेको छ ।
अघिल्लो वर्ष ५ स्थानले नेपालको डुइङ विजनेश तल झरेको थियो । डुइङ विजनेश सुधार हुनुलाई व्यवसाय गर्न राम्रो वातावरण भएको मानिन्छ ।
९४ औं स्थानमा उक्लिएको नेपालले ६३.२ अंक पाएको छ । अघिल्लो वर्ष ५९.७ अंक रहेकोमा ३.५ प्रतिशतले सुधार भएको हो ।
डुइङ विजनेश इनडेक्समा सबैभन्दा शिर्ष स्थानमा न्यूजिल्याण्ड देखिएको छ भने सबैभन्दा पुछारमा सोमालिया रहेको छ ।
सबैभन्दा राम्रो सुधार गर्नेमा भने साउदी अरेविया देखिएको छ । नेपाल भन्दा छिमेकी मुलुक भारतले राम्रो सुधार गरेको छ । भारत यस अघि १४२ औं स्थानमा रहेकोमा यस वर्ष सुधार भएर ६३ औं स्थानमा उक्लिएको छ ।
यस्तै, साउदी अरेविया, जोर्डन, टोगो, बहराइन, ताजिकिस्तान, पाकिस्तान, कुवेत, चीन, भारत, नाइजेरिया जस्ता देशहरुले ‘डुइङ विजनेश इनडेक्स’ मा राम्रो सुधार गरेका छन् ।