लमजुङ । मनाङमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । लमजुङ बेँसीशहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा शनिबार साँझ ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
बेँसीशहरबाट मनाङ जाँदै गरेको ट्रक सडकखण्डबाट ५० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिनुभयो ।
टुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
त्यसैगरी चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ सदरमुकाम बेँसीशहर ८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरी निरीक्षक पुनले बताउनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका तीनमध्ये नासो–१ का तीन वर्षीय बालक थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक तनहुँको भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३ धारापानीका सात वर्षीय मेल गुरुङको भरतपुरमै उपचार भइरहेको छ ।
चालक तामाङको टाउकामा चोट लागेको छ भने सात वर्षीय बालकको नदेखिने गरी भित्री चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो ट्रकमा आठ जना सवार थिए । रासस