काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिएका मुगुकी बालिका ठिल्ले साङमु लामाले आर्थिक अभावका कारण विद्यालय छाडेकी छन् । प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेर छोरी सरह बनाउनुभएको साङमु अहिले अभाव र तनावका कारण विद्यालय जान छाडेकी हुन् ।
तीन वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत्ताकपडा पठाउनुभएको थियो । तर खर्चको अभावमा र विद्यालय जाँदा एवम् गाउँघर पुग्दा सबैले प्रधानमन्त्रीकी छोरी भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले विद्यालय जानै छाडेकी हुन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओली दम्पत्तिले दुई बालबालिकालाई अभिभावकत्व दिनुका साथै मन्त्री, सांसदलगायतलाई पनि गरीब एवम् असहाय अभिभावकत्व दिन आग्रह गर्नुभएको थियो । ओलीले मुगुकी साङमु र उहाँकी धर्मपत्नी राधिका शाक्यले छिरिङ टेन्जोङ लामालाई अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।
तर, प्रधानमन्त्री, मन्त्रीहरु एवम सांसदहरुका साथै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले अभिभावकत्व ग्रहण गरेका बालबालिकाको अवस्था अहिले कस्तो छ भन्नेबारे सम्बन्धित सबै बेखबर भएको पाइएको छ ।