बागलुङ । गलकोट मल्ममा परम्परागत होली मेलाको तयारी गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट–७ मल्मको आयोजनामा आगामी चैत १३ गतेदेखि १५ गते सम्म होली पूर्णिमाको अवसरमा मेला आयोजना गरिएको संस्थाका अध्यक्ष थम्मन थापाले जानकारी दिनुभयो ।
समाजले मेला सफल बनाउन सरोकारवाला पक्षसँग अन्तरक्रिया गर्नुका साथै विभिन्न उपसमिति गठन गरेको छ । संस्थाको ३६ औं वार्षिकोत्सव तथा होली मेला २०७७ का अवसरमा कार्यक्रमको आयोजना गर्न लागेको हो ।
मेलाका अवसरमा विभिन्न खेलकुदल प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रम हुनेछन् । प्रतियोगिताका विजयीलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
पुरुष भलिबल प्रतियोगिताको पुरस्कार व्यवस्थापन खर्चसहित क्रमशः नगद प्रथम रु ६० हजार, द्वितीय रु ३५ हजार र सान्त्वना १५ हजारं १५ हजार २ राखिएको छ । सामूहिक नृत्य प्रतियोगिता तर्फ व्यवस्थापन खर्चसहित क्रमश नगद प्रथम रु १६ हजार, द्वितीय रु ११ हजार र तृतीय रु ८ हजार रहेको छ ।
मेला अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ । मेलाको अवसरमा जेष्ठ नागरिक सम्मान, भूतपूर्व खेलाडी सम्मान, सक्रिय समाजसेवी सम्मान, जेहेन्दार विपन्न विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिने संस्थाले जनाएको छ ।
जिल्लाको पर्यटकीय तथा धार्मिक गन्तव्य घुम्टेको काख मल्ममा सञ्चालन हुने परम्परागत होली पूर्णिमा मेला विगत लामो समयदेखि हुँदै आएको छ । घुम्टे युवा परिवार ‘खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नाराका साथ वि।सं २०४१ सालमा स्थापना भएको हो । संस्थाले स्थानीय स्तरमा सामाजिक क्रियाकलाप, तालिम, गोष्ठी, बेसाहारा परिवारलाई सहयोग, सार्वजनिक स्थलमा सिसी क्यामरा जडान लगायतका कामहरु सम्पन्न गरेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार समितिका संयोजक सुवेदार टिका बहादुर थापाले बताउनुभयो ।