काठमाडौं । सोमबार कर्णाली नदीमा हाम फालेका एकै परिवारका चार जनाको आज अन्त्येष्टि गरिएको छ । चार सन्तानसहित कर्णाली नदीमा हामफालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवाल र उनका तीन सन्तानको बुधबार अन्त्यष्टि गरिएको हो ।
नदीमा हामफालेकै दिन सोमबार १६ वर्षीया कल्पना र १२ वर्षीया सरिताको जालमा बेरिएको अवस्थामा शव फेला परेको थियो । मंगलबार ३५ वर्षीया सुकी बडुवाल र उनका १० वर्षीय छोरा ललितको एउटै डोरीमा बाँधिएको अवस्थामा शव भेटिएको हो । ५ वर्षीया छोरी रजनी भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।
बुधबार पोष्टमार्टमपछि आमा सुकीसहित चारैजनाको अन्त्येष्टि गरिएको हो । सुकीका श्रीमान मानसिंह बडुवाल प्रहरीको नियन्त्रणमा छन् । उनकै कारण परिवार नै आत्महत्याको निर्णयमा पुगेको आशंका सहित प्रहरीले उनीसँग सोधीखोजी गरिरहेको छ । मानसिंहले दैनिक रक्सी खाने र श्रीमती तथा छोरीहरुलाई कुटपिट गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
सोमबार दिउँसो ४ बजेतिर खेतमा जाने भनेर हिँडेका सुकी र उनका चारछोराछोरीले कर्णालीमा हामफालेका थिए। श्रीमान भने जाँड खाएर घरमै सुतिरहेका थिए ।