काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या प्रकरणमा जोडिएका आरोपी १९ वर्षीय सुदीप परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
परियारलाई मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध यसअघि नै जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । प्रहरीले सरकारी वकिल कार्यालयमार्फत मंगलबार नै परियारलाई अदालतमा पेस गर्ने भएको छ ।
बास्तोलाको हत्या आशंकामा ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । आरोपीमध्ये तीन जना यसअघि नै पक्राउ परिसकेका थिए । अदालतको आदेशबाट दुई जना धरौटीमा छुटेका छन् भने एक जना पूर्पक्षका लागि थुनामा छन् ।
मुद्दामा प्रतिवादी बनाइएकामध्ये झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल फरार रहेका छन् ।
मृत्यु प्रकरणमा जोडिएका उर्लाबारी ६ का रमेश गिरीलाई जिल्ला अदालत मोरङले सोमबार एक लाख धरौटीमा छाड्न आदेश दिएको छ । बास्तोलाको पुस ४ गते राति गिरीकै घरमा हत्या भएको थियो।
पुस ४ गते साथीको डेरामा सुतेका प्रविणको राति हत्या भएको थियो । मदिरा पिएका बाँस्तोलाको नाक र मुख थुनेर हत्या गरिएको प्रहरीको निष्कर्ष छ ।
फरार रहेका दुई जनाको खोजी तीब्र पारिएको र उनीहरु पनि छिट्टै पक्राउ पर्ने प्रहरीले जनाएको छ ।